मंसिर २, २०७४-उम्मेदवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोटमा कांग्रेसका नेता रामशरण महतको प्रचारमा खटिएका कार्यकर्ता चढेको गाडी माइन विस्फोटनमा पर्यो ।
६ जना घाइते भए । रोल्पामा वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरेर बम आक्रमण भयो ।
गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगिसकेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव समूहको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । स्रोतका अनुसार गृहले २५ कात्तिकमै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहको नेकपाका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ ।
अघिल्लो साता पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा विप्लव समूहको नेकपाबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष्कर्ष निकालिएको थियो । निर्वाचन सुरक्षासम्बन्धी यसअघिको एकीकृत सुरक्षा योजना गृह मन्त्रालयले परिमार्जन गरेको थियो । गृहले ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०७४’ बनाएर कार्यान्वयनमा ल्याएको थियो । यसअघिको स्थानीय तह चुनावजस्तै यसपटक पनि तीनघेरे सुरक्षा योजना छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना । तर लगातारका उम्मेदवार लक्षित विस्फोटका घटनाले निर्वाचन सुरक्षामा चुनौती बढदै गएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले बदलिएको परिस्थितिअनुसार सुरक्षा योजनामा फेरबदल गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिइएको बताए । विस्फोटका पछिल्ला घटनाप्रति मन्त्रालय संवेदनशील भएको र निर्वाचन बिथोल्ने समूहमाथि थप निगरानी बढाइएको उनले बताए ।
शुक्रबारको नियमित सुरक्षा बैठकले एकपछि अर्को गर्दै विस्फोटका घटना बढेको भन्दै संवेदनशील जिल्लाहरूमा जाँच र खानतलासी बढाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन
दिने निर्णय गरेको गृह प्रवक्ता नारायणप्रसाद शर्माले बताए । प्रहरी प्रवक्ता मनोज न्यौपानेले विस्फोटका शृंखलाबद्ध घटनापछि प्रहरी सक्रियता बढाइएको बताए । उनले सुरक्षा निकायले संवेदनशील भएर काम गरिरहेको जनाउँदै भने, ‘संवेदनशील ठाउँमा प्रहरीको संख्या बढाएका छौं ।’ स्रोतका अनुसार विप्लव समूहको नेकपाका केन्द्रीयस्तरका अधिकांश नेता भूमिगत छन् । उनीहरूलाई पक्राउ गर्दा राजनीतिक दबाब आउने भएकाले पक्राउ गर्नेभन्दा पनि निगरानी बढाउने काम भइरहेको छ ।
पूर्वएआईजी विज्ञानराज शर्मा चुनावको मुखमा एकपछि अर्को विस्फोटका घटना हुनुलाई सामान्य मान्दैनन् । उनले गृह मन्त्रालयले चुनावी सुरक्षा रणनीति पुरातन हिसाबले बनाएको टिप्पणी गर्दै भने, ‘यस्तो चुनौती आउँछ भन्ने सुरक्षा संयन्त्रले अनुमान नगरेको देखियो । विस्फोटका घटना भइरहने, तर त्यसमा संलग्नहरू पक्राउ नपर्ने प्रवृत्तिले यस्ता समूहहरूको मनोबल बढाउँछ ।’ शर्माका अनुसार चुनावअघि उम्मेदवार लक्षित लगातारका विस्फोटका घटनाले चुनावी सुरक्षा रणनीतिमा सरकार चुकेको देखाउँछ । कमजोर गुप्तचरी संयन्त्र, सूचना संयन्त्रमा राज्यको कमजोर लगानी र बलियो सुरक्षा योजना अभावमा चुनावी सुरक्षामाथि प्रश्नचिह्न उठिरहेका छन् ।
निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले ९८ हजार २ सय ६८ म्यादी प्रहरी परिचालन गर्दैछ । त्यस्तै ७२ हजार प्रहरीमध्ये कार्यालयको काममा संलग्नबाहेक बहुसंख्यक प्रहरी निर्वाचन सुरक्षामा खटिनेछन् । सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाका निम्ति १२ हजार र दोस्रो चरणका निम्ति २८ हजार सशस्त्र प्रहरी खटिनेछन् । प्रवक्ता पाण्डेले भने, ‘पछिल्लो समय पश्चिम नेपालमा सुरक्षा थ्रेट बढेको देखिन्छ । त्यसकारण सुरक्षामा खटिने जनशक्ति बढन सक्ने देखिन्छ ।’ अनुसन्धान विभागमा कार्यरत ३ हजारमध्ये झन्डै आधा जनशक्ति सूचना संकलनमा परिचालन हुनेछन् । त्यस्तै, नेपाली सेनाका ९० हजार जनशक्तिमध्ये कति परिचालन हुनेछन् भन्ने सार्वजनिक गरिएको छैन ।१७५ पक्राउ
प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार शुक्रबार बिहानसम्म निर्वाचन बिथोल्न खोज्ने समूहका १ सय ७५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकांश विप्लव समूहको
नेकपासम्बद्ध कार्यकर्ता छन् । केही जिल्लास्तरीय नेता पनि पक्राउ परेको र केन्द्रीयस्तरका नेतालाई निगरानीमा राखिएको उनले बताए । बिहीबार बेलुका विप्लव समूहको नेकपाका काठमाडौं जिल्ला सदस्य जितेन्द्र महर्जनलाई प्रहरीले समातेको छ भने झापामा एक अञ्चलस्तरीय नेतासहित चार जिल्लास्तरीय नेता पक्राउ परेका छन् ।
Comments
Post a Comment