Skip to main content

सुरक्षा व्यवस्था 'चुस्त' भएको सरकारको दाबी, हिजाे मात्रै विभिन्न स्थानबाट ३२ जना पक्राउ



मंसिर ८, २०७४-चुनाव नजिकिँदै गर्दा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट ३२ जनालाई पक्राउ गरेको छ । पाँचथरमा १४, सल्यानमा ६, मकवानपुरमा ५, नुवाकोटबाट १ र धादिङमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङमा पक्राउ परेका ५ जना युथ फोर्सका कार्यकर्ता रहेको र बाँकी सबै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

पाँचथरमा निर्वाचनमा अवरोध पुर्‍याउन सक्ने आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई निर्वाचन अवधिभर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । प्रहरीको गतिविधिमाथि अवरोध पुर्‍याएकाले उनीहरू पक्राउ परेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

उनका अनुसार पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पौवासार्तापका एलिया नेम्वाङ, वडा ३ का संग्राम राई, इच्छाबहादुर राई, विशाल राई, वडा नं. ५ चिलिङदिनका जितबहादुर चेम्जोङ, मौसम थाम्सुहाङ, फाक्फोकथुम गाउँपालिका–१ इलामका रूपनारायण अधिकारी, हिलिहाङ गाउँपालिका–२ अमरपुरका डिल्लीराम कटुवाल, वडा ५ का रामचन्द्र मग्राती, फालेलुङ गाउँपालिका–५ प्राङबुङका तारा राई, याङवरक–२ का शिशिर पोखरेल, फिदिम नगरपालिका–१ का नारायण कार्की, सुनसरी रामधुनी नगरपालिका–१ का ओमकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।



सल्यानमा प्रहरीले विभिन्न ठाउँबाट नेकपाका ६ जना कार्यकर्ता पक्राउ गरेको छ । शारदा नगरपालिका १ श्रीनगरका ३३ वर्षीय कृष्णबहादुर ओली, कालिमाटी ४ डिमुरेबाट ३५ वर्षीय तुलसीप्रसाद खत्री, फलाबाङबाट धनबहादुर विष्ट, कुमाखमालिका ४ जिमालीबाट जंगबहादुर चन्द, बडागाउँबाट सहवीर नेपाली र बाग्चौर ३ का खुमबहादुर ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चुनावविरोधी गतिविधि निरुत्साहित गर्न पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले बताए ।

धादिङमा ६ जना

निर्वाचन बिथोल्न विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले थाक्रे जुगेखोला निवासी कृष्ण खतिवडालाई पक्राउ गरेको छ । गत ३ गते वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठीलाई लक्षित गरी त्रिभुवन राजपथस्थित तसर्पुमा सुतली बम प्रहार गर्ने अन्य समूहलाई उम्मेदवारको नियमित कार्यक्रमको सूचना दिएको आरोपमा खतिवडालाई गिरफ्तार गरिएको हो ।

यसैगरी धादिङको थाक्रे–१ सिम्लेस्थित पृथ्वी राजमार्गमा पर्ने बजारमा बिहीबार अपराह्न फेला परेको प्रेसरकुकर बमले २ घण्टा राजमार्ग अवरुद्ध गरेको छ । निर्वाचन बिथोल्न अज्ञात समूहले सडकमा प्लास्टिकको झोलाभित्र राखेको प्रेसरकुकर बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ सेनाको टोली घटनास्थलमा पुगेको थियो । सेनाको टोलीले बम डिस्पोज गराएपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

युथ फोर्सका जिल्ला अध्यक्षसहित ५ जना पक्राउ
उम्मेदवारसँगै घरदैलोमा गएका युथफोर्सका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकामस्थित नीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय किशोर रोशन गुरुङमाथि आक्रमण गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आक्रमणमा रोशन सख्त घाइते भएका छन् । उनको थप उपचारका लागि काठमाडौं लगिएको छ । मौनअवधिको पूर्वसन्ध्यामा सदरमुकामको सिरान बजारमा घरदैलो गर्न गएका वाम गठबन्धनका नेता फर्केलगत्तै स्थानीय गामवेंसी होटलमा बसेका अन्य स्थानीय युवालाई ग१ज ६१८१ नम्बरको जिपबाट ओर्लेर युथ फोर्सका जिल्ला उपाध्यक्ष हप्पा तामाङलगायतका टोलीले आक्रमण गरेको थियो । थप भिडन्त हुन नदिन प्रहरीले घरदैलोमा प्रयोग गरिएको जिप, युथ फोर्सका उपाध्यक्ष हप्पासहित विश्व तामाङ, विक्रम तामाङ, विजय तामाङ, सन्ते तामाङ, कञ्चन र प्रितम तामाङलाई नियन्त्रणमा लिएको छ ।

एउटा डिस्पोज र एउटा पड्कियो
नुवाकोट जिल्ला निर्वाचन कार्यालय परिसरमा सकेट बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । कार्यालय सुरक्षामा खटिएका सशस्त्र र नेपाल प्रहरीले बिहीबार नौ बजेतिर सरकारी मोटरसाइकल बा२व २६८० को मुनि बम देखिपछि कार्यालयमा मतदाता सामग्री लिन आएका कर्मचारीसमेत भयभीत भएका थिए । उक्त बम श्रीनाथ गणको डिस्पोजल टोलीले खुला क्षेत्रमा लगी निष्क्रिय पारेको थियो । प्रहरीले बम राख्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

यसैगरी किस्पाङ गाउँपालिका–२ ताजीको जंगल नजिकको कच्ची सडकमा बिहीबार बम विस्फोट भएको छ । मानवरहित स्थानमा प्रेसरकुकर बम विस्फोट भएको थियो । त्यस क्षेत्रमा २ वटा नमुना मतपत्र च्यातिएको र बम बोक्नकै लागि प्रयोग भएको हुनसक्ने रातो झोला बरामद भएको प्रहरीले जनाएको छ । विस्फोट भएको खबर आएपछि टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुकरजंग विष्टले बताए ।
शिक्षक पक्राउ
निर्वाचनविरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाउँपालिका–३ लिखुस्थित महेन्द्र माविमा अध्यापनरत शिक्षक मधुसूदन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई शिवपुरी–४ सिक्रे पूर्णिमा कांग्रेस वडा सदस्य उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा बुधबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुकरजंग विष्टले बताए । पक्राउ परेका पौडेल विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ ।
लिखु बजार निषेधित क्षेत्र
जिल्ला प्रशासन कार्यालयले लिखु गाउँपालिकाको वडा नम्बर १ मा पर्ने ढिकुरेबजारलाई एक दिनका लागि सभा, जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा बर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चार किल्लाभित्र पर्ने ढिकुरे बजारमा बिहीबार कुनै पनि सभा, जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । ढिकुरे बजारमा क्षेत्र नम्बर १ को लोकतान्त्रिक पक्ष र वाम गठबन्धनले २ सय मिटर वरपरमा चुनावी आमसभा राखेकाले झडप हुने सम्भावनामा प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

हतियार र विस्फोट पदार्थ बरामद
मकवानपुरको मनहरि गाउँपालिका–२ सिद्धकालीस्थित एक घरबाट प्रहरीले हातहतियारसहित विस्फोटक पदार्थ बरामद गरेको छ । प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले सिद्धकालीस्थित इमानबहादुर थिङको घरबाट ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ बरामद गरेको हो । विशेष सूचनाका आधारमा घर खानतलासी गर्ने क्रममा कटुवा बन्दुक, गोली, डेटोनेटर, बिजुलीको तार, बारुदलगायत १८ किसिमका अवैध सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । खानतलासी गर्दा थिङ फेला नपरेको प्रहरीले जनाएको छ । थिङ नेकपा विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ । मकवानपुरमा विप्लव समूहनिकट रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

उम्मेदवारको घरमा विस्फोट
सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार जयकुमार राईको धरान १५ स्थित घरमा बिहीबार साँझ बम विस्फोट भएको छ । राईको घर प्रवेश गर्ने मूलगेटमा विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

मतदान गराउन गएको टोलीमाथि ढुंगा प्रहार
कालिकोटको कालिका गाउँपालिका १ को जनता निमावि छातीमा मतदान गराउन गएको टोलीमाथि नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । त्यहाँको दतिल बस्तीबाट उकालो चढ्दै गर्दा माथिबाट ढुंगा र ग्रिनेट फालेको सहायक मतदान अधिकृत प्रकाशचन्द्र घिमिरेले बताए ।
‘ग्रिनेट पडकेन, पड्केको भए क्षति हुने थियो,’ घिमिरेले भने, ‘दिउँसो २ घण्टा टोली बीचबाटोमा रोकियो । थप सुरक्षा टोली पुग्नासाथ उनीहरू भागे र मतदान गराउन गएका सबै मतदान स्थल पुगे ।’ अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

Comments

Popular posts from this blog

चुनावी सुरक्षामा प्रश्न

मंसिर २, २०७४-उम्मेदवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोटमा कांग्रेसका नेता रामशरण महतको प्रचारमा खटिएका कार्यकर्ता चढेको गाडी माइन विस्फोटनमा पर्‍यो । ६ जना घाइते भए । रोल्पामा वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरेर बम आक्रमण भयो । गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगिसकेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव समूहको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । स्रोतका अनुसार गृहले २५ कात्तिकमै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहको नेकपाका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ । अघिल्लो साता पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा विप्लव समूहको नेकपाबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष...

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिका...